सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुखसहित गाडीमा सवार ११ जना घाइते भएकोमा कार्यालय सहयोगी बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको हो ।
घिमिरेको उपचारका क्रममा एलएस न्युरो अस्पताल कलैया, बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १० जना घाइते उपचाररत छन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी गम्हरिया गाउँदेखि उत्तर नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।