भक्तपुर। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको ६ लेन सडक विस्तार सुरु गरिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन सुरु गरिएको हो।
अरनिको राजमार्ग विस्तारमा मापदण्डविपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना हिजोदेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाले जनाएको छ।
सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको हो।