पर्सा। वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको खेतको मुआब्जा वितरण कार्य सम्पन्न भएको छ।
हालसम्म स्थानीय जग्गा धनीले करिब ४ अर्ब ८० करोड रुपैयाँ मुआब्जा रकम बुझिसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ।
मुद्दा मामिला तथा प्राविधिक जटिलता रहेका केही जग्गाधनीबाहेक अधिकांशले आफ्नो खेतको मुआब्जा बुिझसकेका छन्। अब बाँकी रहेको घरघडेरी, पोखरी, बानीनाली र रुखको मूल्यांकन गर्ने काम सुरु गरिएको छ ।
सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा पर्ने कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा अधिग्रहण प्रक्रिया संघीय सरकारले ७ वर्षअघि सुरु गरेको थियो । नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।