काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छिन्।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उनले मानव र प्रकृति एकअर्कासँग जोडिएको बताउँदै मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुनाले यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने जनाएकी छिन्।
उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छिन्। सोही कार्यक्रमा उनले वर्तमान समयमा पनि लैङ्गिक हिंसा विभिन्न तवरबाट यथावत रहिरहनु चिन्ताको विषय भएको बताउँदै यसलाई न्युनिकरण गर्न महिला र पुरुष दुवैको सक्रियता उत्तिकै महत्त्वपुर्ण रहेकोमा जोड दिएकी छिन्।
उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वान पनि गरेकी छिन्। यसैगरी नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गरेकी छिन्।
यसैगरी सोही कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वनजङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यसमेतमा विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराएक छन्।