बागलुङ– काठेखोला गाउँपालिकाले प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न गरिसकेको छ । अब टहरामा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो ।
सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने वडा कार्यालयले जनाएकाे छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै उद्योग निर्माण सुरु गरेको छ । सङ्घीय सरकारले रु तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोलाले रु ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको छ ।
निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना छ ।