काठमाडौं। चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाहको निर्माण कार्य सकिएको लगभग पाँच महिना पुगे पनि अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन। बन्दरगाह सञ्चालनको पूर्वतयारी समयमै नसक्दा डेढ अर्ब लागतमा निर्माण भएको पूर्वाधार प्रयोगविहीन भएको हो।
विश्व बैंकको ऋण सहयोगमा काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो। सुक्खा बन्दरगाहको लागत एक अर्ब भन्दा माथी पुगेको छ। ठेकेदार कम्पनी सांसी–आशिष जेभीले काठमाडौं सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरेर गत असारमै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको थियो।
असारमा निर्माण सम्पन्न भएको आयोजना मंसिरमा महिना सकिनलाग्दासमेत सञ्चालनमा आउने टुंङगो लागेको छैन। सुक्खा बन्दरगाह सञ्चालनका लागि त्यसभित्र भन्सार, सुरक्षा र क्वारेन्टिनको व्यवस्था हुनुपर्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार बन्दरगाह प्रयोगका लागि निजी क्षेत्रलाई मनाउनुपर्छ। यी सबै पूर्वतयारी सम्पन्न भएपछि मात्रै बन्दरगाह सञ्चालनमा आउने छ।
मुख्य पूर्वाधार निर्माण त भयो, तर अन्य आवश्यक पूर्वाधार निर्माण र प्रक्रियागत कामहरू सम्पन्न हुन बाँकी नै रहेको पनि उनले बताए। बन्दरगाह छिटो सञ्चालनमा ल्याउने हाम्रो प्रयास जारी नै छ, तर कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने विषय भने अहिल्यै भन्न नसकिने उनले जाकारी दिए।
अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा कृषि मन्त्रालयलगायत सरोकारवाला मन्त्रालय र मातहतका निकायलाई सुक्खा बन्दरगाहमा उनीहरूको उपस्थितिका लागि आग्रह गरिएको प्रवक्ता रेग्मीले बताए । सम्बन्धित निकायको उपस्थितिपछि मात्रै बन्दरगाह चलाउन सकिने उनले जनाए।