बाँके। बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा नयाँ पुल निर्माण सुरु भएको छ। उक्त ठाउँमा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको हो।
तत्कालीन पुनर्वास कम्पनीले वि.सं २०२५ सालतिर निर्माण गरेको पुल एक दशक नपुग्दै नालमा आएको बाढीले भत्काइदिएको थियो। पुल निर्माण हुन थालेपछि स्थानीय पनि धेरै खुशी भएका छन्।
नेपालगन्ज–गुलरिया सडकखण्ड अस्तित्वमा नआईसकेको अवस्थामा नेपालगन्जबाट बर्दिया पुग्ने सहज मार्ग समेत यही थियो । पुल निर्माण भए पनि खजुरा वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दालाई पालिकाको केन्द्र बि गाउँ पुग्न सहज हुनेछ ।
२०८२ वैशाख १२ मा सम्पन्न गर्ने गरी आकृति–कुमार गणेश जेभीले मूल्य अभिवृद्धि कर बाहेक ६ करोड १० लाख ९० हजार २८६ रुपियाँमा पुल निर्माणको ठेक्का पाएर कामलाई अघि बढाएको छ ।