काठमाडौँ । बाढीपहिरो र नदी कटानबाट सडक पूर्वाधारमा हुने क्षति घटाउन सरकारले अब अग्ला पुल निर्माण गर्ने नीति लिने भएको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पुलको डिजाइन परिवर्तन गरी अग्ला पुल निर्माण गरिने बताएका हुन्।
भदौ १० गतेको बाढीले त्रिशूली नदीका ३७ पुल बगाएपछि सडक सञ्जाल प्रभावित भएको थियो। तत्काल यातायात सञ्चालनका लागि बेलिब्रिज जडानलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। लामो दूरीका पुलका लागि १०० मिटर लामा बेलिब्रिज अभाव भएकाले दातृ राष्ट्रसँग सहयोग मागिएको छ।
सिग्देलका अनुसार हालैको बाढीपहिरोबाट सडक पूर्वाधारमा २० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ। तत्काल पुनर्स्थापनाका लागि मन्त्रालयले २१ दिने कार्ययोजना बनाएर आठ समिति परिचालन गरेको छ।