काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको म्याद तीन वर्ष थप भएको छ। गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले म्याद थप गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम भण्डारीले जानकारी दिए।
थपिएको म्यादअनुसार अब नेपाली सेनाले २०८६ चैत मसान्तसम्म द्रुतमार्ग निर्माण सम्पन्न गर्नुपर्नेछ। यसअघि आयोजनाको म्याद २०८३ चैतसम्म थियो।
नेपाली सेनाका अनुसार भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१।४७ प्रतिशत पुगेको छ। ७१ किलोमिटर लामो आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा हालसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ।
द्रुतमार्ग निर्माणमा खोकना–बुङमती खण्डको जग्गा अधिग्रहण तथा स्थानीय अवरोध मुख्य चुनौतीका रूपमा रहेका छन्। सेनाले जिम्मा पाएयता आयोजनाको म्याद तेस्रोपटक थप गरिएको हो।