काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका तीन राजमार्ग विस्तार तथा सुधारका लागि करिब ४७ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।
एडीबीले नारायणघाट–हेटौंडा र मुग्लिङ–आँबुखैरेनी सडक विस्तार तथा कर्णाली राजमार्ग सुधारका लागि ३५ करोड अमेरिकी डलर अर्थात् करिब ४६ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराउन लागेको हो। यसमध्ये २८ करोड ५० लाख डलर सहुलियत ऋण र २ करोड डलर अनुदान हुनेछ।
रकममध्ये २४ करोड ५० लाख डलर नारायणघाट–हेटौंडा, ३ करोड डलर मुग्लिङ–आँबुखैरेनी र १ करोड डलर कर्णाली राजमार्गमा खर्च हुनेछ।
नारायणघाट–हेटौंडाको ७० किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। टिकौली जंगलमा वन्यजन्तु आवतजावत सहज बनाउन २ किलोमिटर लामो भायडक्टसमेत निर्माण गरिनेछ। कर्णाली राजमार्गको ७३ किलोमिटर खण्डमा सडक सुरक्षा, चौडा बनाउने र मोड सुधारका काम गरिनेछ।