काठमाडौँ । सरकारले रसुवागढीमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नदीले कटान गरेर बगाएको क्षेत्रमा सडक पुनर्निर्माण गर्ने पक्षमा सरकार नरहेको बताएका हुन्।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक निर्माणका क्रममा भएको कटिङका कारण पहिरो खसेको स्थान भने पुनः उठाउनुपर्ने बताए।
‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ। तर, बाढीले बगाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ,’ उनले भने। सरकारले विपद्पछि पूर्वाधार निर्माणमा ‘बिल्ड ब्याक बेटर’ अवधारणा अपनाउने विषयमा समेत पुनर्विचार गरिरहेको उनको भनाइ थियो।