काठमाडौँ । नेपाल धितोपत्र बोर्डले जलविद्युत् तथा पूर्वाधार कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गर्ने नयाँ मापदण्ड प्रस्ताव गरेको छ।
बोर्डको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाअनुसार आईपीओ जारी गर्न जलविद्युत् कम्पनीको प्रतिसेयर नेटवर्थ कम्तीमा १०० रुपैयाँ हुनुपर्नेछ। आयोजनाको प्राविधिक अवस्था, निर्माण प्रगति, लागत र सञ्चालन तयारीको स्वतन्त्र इन्जिनियरबाट परीक्षण गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
आईपीओबाट उठेको रकम स्वीकृत आयोजनामै खर्च गर्नुपर्ने र त्यसको प्रगति तथा खर्च विवरण नियमित रूपमा बोर्डमा बुझाउनुपर्नेछ। निर्माणमा गम्भीर अवरोध भएका, भ्रामक विवरण पेस गरेका वा वित्तीय अपराधमा संलग्न प्रवर्द्धक तथा सञ्चालक भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने प्रस्ताव गरिएको छ।