काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी दुवैतर्फ यातायात सञ्चालनमा आएपछि सवारी साधनको चाप बढेको छ।
भदौ १० गतेको बाढी र पहिरोले सडक कटान गरेपछि अवरुद्ध भएको कृष्णभीर क्षेत्रमा सडक विस्तार तथा कटान गरी असोज १ गतेदेखि दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालनमा आएपछि लामो दूरीका सार्वजनिक तथा निजी सवारी र मालवाहक गाडी पुनः पृथ्वी राजमार्गबाटै आवतजावत गर्न थालेका छन्। यससँगै राजमार्गका विभिन्न खण्डमा सवारी चाप बढेको छ।
यद्यपि बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। स्थायी समाधानका लागि क्षतिग्रस्त सडक तथा संरचनाको पुनर्निर्माण आवश्यक रहेको बताइएको छ।