कास्की । बाढीका कारण साउन २८ गतेदेखि अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रूपमा यातायात सञ्चालनमा आएको छ।
मोदी खोला र किम्रुङ खोलामा आएको बाढीले सडकका विभिन्न भागमा क्षति पुर्याएपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बस्ती सडक सम्पर्कबाट विच्छेद भएका थिए। सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।
बिरेठाँटीमा मोदी खोलाको कटानले करिब १०० मिटर सडक बगाएको थियो। ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने र सडक सम्याउने काम गरी यातायात सञ्चालनयोग्य बनाइएको हो।
सडक खुलेसँगै घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने पर्यटक र स्थानीयलाई आवागमन सहज भएको छ। वर्षायाम अझै बाँकी रहेकाले सावधानीपूर्वक यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ।