काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमा तत्काल यातायात सञ्चालन गर्न सडक विभागले बेलीब्रिज जडानको प्रक्रिया अघि बढाएको छ।
सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार गल्छी–बेनीघाट खण्डमा पहिरो र गेग्रान हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। कोलमु खोला पुलको स्थायी पुनर्निर्माणको काम सुरु भइसकेको र १० देखि १५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।
विदुर क्षेत्रमा बाढीले बगाएका दुई पुलको स्थानमा ६० मिटरको बेलीब्रिज १५ देखि २० दिनभित्र जडान गरी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। बेलीब्रिज सम्भव नभए स्थायी पुल निर्माणका लागि तत्काल ठेक्का प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
घाटीबेँसीको क्षतिग्रस्त पुलमा भने पिलर मर्मत गरी अस्थायी रूपमा सञ्चालन गर्ने वा नयाँ ट्रस ब्रिज बनाउने विषयमा प्राविधिक मूल्याङ्कन भइरहेको छ।