हेटौँडा। मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल स्तरोन्नतिका लागि मङ्गलबारदेखि बन्द हुने भएको छ। उक्त सडक मङ्गलबारदेखि एक साताका लागि पुनः बन्द गरिने भएको हो ।
महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकको मातातीर्थ सडकखण्डको धारापानी नजिक साँघुरो सडकछेउ टेवा पर्खाल लगाउने काम भइरहेकोले बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ।
सवारीसाधन आवतजावतका कारण काम गर्न असहज भएको भन्दै फागुन १ गतेदेखि फागुन ७ गतेसम्म सो सडक खण्डमा दिउँसोको समयमा आवागमन बन्द गरिएको हो। उक्त सडक भएर आवतजावत गर्ने सवारी साधनले धारापानी नजिकको सडक खण्डमा बिहान ७ बजेभित्र पार गरिसक्नुपर्ने र बेलुका ६ बजेपछि मात्र आवतजावत गर्न सकिने गरी व्यवस्था गरिएको छ ।