बैतडी । सडक डिभिजन कार्यालय बैतडीले समयसीमा सकिए पनि निर्माण तथा मर्मतको काम सम्पन्न नगरेका विभिन्न सडक आयोजनाका १० वटा ठेक्का सम्झौता रद्द गरेको छ।
कार्यालयले सूचना जारी गर्दै तोकिएको म्याद समाप्त भइसकेको र सम्झौताअनुसार काम सम्पन्न नगरेका निर्माण व्यवसायीका ठेक्का सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ७ तथा ठेक्का सम्झौताको साधारण सर्तबमोजिम अन्त्य गरिएको जनाएको छ।
सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने कार्यालयले जनाएको छ। यस्तै, कार्यसम्पादन जमानत, धरौटी तथा बाँकी पेस्कीबापतको जमानतसमेत जफत गरिनेछ।
ठेक्का रद्द हुनेमा न्यू सहारा कन्स्ट्रक्सन डडेल्धुरा, जयलक्ष्मी निर्माण सेवा बाजुरा, प्रभास कन्स्ट्रक्सन बैतडी, श्री नरेन्द्र निर्माण सेवा बाजुरा, कुलगाडे निर्माण सेवा बैतडी, बिग बी एन्ड कम्पनी प्रालि बैतडी र रणसैनी निर्माण सेवा बैतडीसहित विभिन्न निर्माण व्यवसायी छन्।
महाकाली, खोड्पे–चैनपुर, मध्यपहाडी र दार्चुला राजमार्गअन्तर्गतका सडक मर्मत, स्तरोन्नति तथा सुरक्षासम्बन्धी ठेक्का रद्द भएका हुन्।
कार्यालयले बाँकी काम तथा भुक्तानीको आर्थिक फरफारकका लागि निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनेको छ। समयमा उपस्थित नभए प्राविधिकमार्फत नापजाँच गरी वित्तीय फरफारक गरिने कार्यालयले जनाएको छ।