म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ एक सातामा छेडिने ( ‘ब्रेक थ्रु’) भएको छ । रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ छेडिने चरणमा पुगेको हो ।
राहुघाटको ६.२ किलोमिटर सुरुङ पूरा हुने चरणमा पुगेको आयोजनाले जनाएको छ। अब मुख्य सुरुङ ३८० मिटर खन्न बाँकी छ । अहिलेसम्म आयोजनाको सुरुङको ९४ प्रतिशत काम पूरा भएको बताइएको छ।
सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु गर्ने तयारी भएको आयोजनाको भनाइ छ। सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो ।