एजेन्सी। यूएईको राजधानी अबुधाबीमा निर्माण भएको मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्। बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले निर्माण गरेको भवनको बुधबार उद्घाटन गरिएको हो।
मन्दिर बनाउन जग्गा यूएई सरकारले दिएको हो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले जनाएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ ।
मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।
बीएपीएसले यो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।
मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।