खोटाङ। धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिने भएको छ। बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सडक स्तरोन्नतिको काम अघि बढाइएको हो।
प्रदेश सरकार र गाउँपालिकाको ५०–५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन, मेसिनरी वाल, ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ ।
धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।