दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।