काठमाडौं। फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको अत्याधुनिक सुविधासम्पन्न चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ। मापदण्डविपरित होटल निर्माण गरेकोको भन्दै २६ मिलियन पाउण्ड लगानीमा निर्माण भएको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो।
अर्जेन्टिनाका कप्तान मेसीले उक्त होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए।बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको उक्त होटलमा पाँच वटा जुनियर सुइट र एउटा सुइटरूमसहित ७७ वटा कोठा रहेको छ। सो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्दछ।
द सनका अनुसार उक्त होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो। होटेल खरिद गरेको बेला होटेलको मापदण्ड गलत भएको आफुलाई केही पनि जानकारी नभएको मेसीले स्पष्टिकरण दिएका छन्। तर अन्य विषयमा भने उनले कुनै पनि प्रतिक्रिया दिएका छैनन्। मेसी सात पटकका बालेन डी ओर विजेता पनि हुन्।