काठमाडौं। गाडी निर्माता कम्पनी फक्सवागनले जर्मनीमा रहेको आफ्नो मुख्य प्लान्टमा प्राइभेट फाइभजी नेटवर्क सञ्चालनमा ल्याएको छ। नयाँ प्रविधिको प्रयोग गरी गाडीको उत्पादन क्षमता बढाउन तथा लागत कम गर्ने योजनाका साथ कम्पनीले आफ्नै छुट्टै फाइभजी नेटवर्क तयार पारेको हो।
त्यसका लागि फक्सवागनले सरकारबाट ३.७ देखी ३.८ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोगका लागि अनुमति प्राप्त गरेको थियो। सोही फ्रिक्वेन्सी प्रयोग गरी नोकियाले उच्च गतिको इन्टरनेटका लागि वारयलेस नेटवर्क निर्माण गरेको हो।
प्रारम्भिक चरणमा यसमार्फत उत्पादन भएका गाडीमा डेटा अपलोड गर्ने तथा नेटवर्किङ, रोबर्टलगायत प्रविधि सञ्चालनको काम अघि बढाइएको बताइएको छ। कम्पनिका अनुसार यसरी आफ्नो छुट्टै फाइभजी नेटवर्क निर्माण गर्दा कम्पनीको डेटा आफैमा सिमित हुनेसाथै सुरक्षित हुने भएकाले डेटा ट्रान्सफरमा समेत कम समय लाग्ने छ। यही नेटवर्कमार्फत सेन्सर, ठुल-ठुला मेसिन समेत चलाउन सकिने जनाइएको छ।