काठमाडौं । झापाको मेचीनगर ७ गैरीगाउँमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच शुक्रबार साँझ झडप भएको छ । झडपका क्रममा ६ जना स्थानीयबासी र एकजना सशस्त्र प्रहरी घाइते भएका छन्।
घाइते हुने स्थानीयबासीमा दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दिपक बातर र अनाह यादव रहेका छन्। घाइतेहरूको उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोडमा लगिएको छ ।
भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीयबासी र सशस्त्र प्रहरी घाइते भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। हाल ६ जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आए पनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डिएसपी दीपक भारतीले बताए।
सशस्त्रका ड्राइभर र कोटमास्टरले स्थानीयबासीमाथि खुकुरी प्रहार गरेको घाइते स्थानीयबासीले बताएका छन्। स्थानीयबासीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए।