काठमाडौं। लामो समयको प्रतिक्षापछि उदयपुर जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ। उक्त अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा शुरू गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले एनेस्थेसिया चिकित्सकसहित अन्य दुई प्रसूति विशेषज्ञ पठाएको छ।
एनेस्थेसियोलोजिष्ट डा. कौशल तामाङलाई स्वास्थ्य विभागबाट जिल्ला अस्पतालमा खटाएकाले यसै हप्तादेखि सो सेवा सञ्चालन हुन लागेको जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलले जानकारी दिएका छन्। यसैगरी स्वास्थ्य सेवा विभागले तीन वर्षअघि नै भेन्टिलेटर सेवासहितको आइसीयू सेवा सञ्चालन गर्नका लागि रु १ करोड बजेट व्यवस्थापन गरेको थियो। सो बजेटबाट दुई भेन्टिलेटर मेसिन खरिद गरेर ल्याएको भए पनि एनेस्थेसिया चिकित्सक नहुँदा दुई वर्षदेखि उक्त मेसिन अस्पतालको कोठामै थन्किएर रहेको थियो।
पटक–पटक आफूहरूले सम्बन्धित निकायमा एनेस्थेसिया चिकित्सकको माग गर्दा बल्ल विभागले चिकित्सक पठाएपछि विसं २०३९ मा स्थापना भएको पहिलो अस्पतालमा आइसीयू सेवा जडान गर्न लागेको अस्पताल व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैगरी २ वर्षदेखि कोठामा थन्किएर रहेको करोडौँ मूल्यका दुई भेन्टिलेटर मेसिन सञ्चालन गरिने र गम्भीर प्रकृतिका बिरामीको उपचार हुने जिल्ला अस्पताल उदयपुरले जानकारी दिएको छ।
वि.सं २०३९ सालमा निर्माण भएको उक्त अस्पतालमा हालसम्म पनि भेन्टिलेटरसहितको आइसीयू सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि लाखौँ खर्चेर धरान, विराटनगर, जनकपुर तथा काठमाडौँ जान बाध्य हुँदै आएका थिए। अव अस्पतालमै भेन्टिलेटरसहितको आइसीयू सेवा जडान भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ। त्यसैले गर्दा जिल्लावासी खुशी भएका छन्।