म्याग्दी। राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौंका पूर्वाधार निर्माण गरिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत भएका १०० ओटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न सुरु गरेका हुन्।
घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ ओटा सौर्य ऊर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ। घोडेपानीको मगर संग्रहालयको पक्की भवन निर्माण गरिएको छ।
स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन सुरु गरेका छन्। ६ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकोमा हाल क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले जानकारी दिएको छ।
पाउद्वार तातोपानी कुण्डबाट भालखरा–खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण शुरू गर्न थालिएको छ।
धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ। दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रूपान्तरण गर्न लागिएको हो।