बाँके। बाँकेको खजुरा गाउँपालिका–४ भण्डरियास्थित किरणनालामा व्यवस्थित शम्सानघाट निर्माण गरिने भएको छ। स्थानीय बासिले पाँच लाख चन्दा उठाएर जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण गर्न थालेका हुन्।
घाट निर्माण गर्नका लागि स्थानीय जङ्गलीप्रसाद बनियाले एक कठ्ठा जग्गा दान गरेका छन्। चन्दा सङ्कलनबाट थप दुई कठ्ठा जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण थालिएको हो । घाट निर्माणका लागि स्थानीयले प्रत्येक घरधुरीबाट सहयोग उठाएका छन्।
खजुरा गाउँपालिका वडा नम्बर ४ ले करिब १५ लाख रुपैयाँमा दुईवटा टहरा र घाट निर्माण गरिदिएको छ ।
खजुरा ४ का ईगाउँ, एफगाउँ, चल्तुवा, पार्वतीपुर, सम्मगाउँ, बुद्धपुर, बैजनाथ गाउँपालिकाको वडा नम्बर ७ परशरामपुर, ठाकुरपुर लगायतका दर्जनबढि बस्तीको साझा एकमात्र शम्सानघाट व्यवस्थित बनाउन थालिएको शम्सानघाट व्यवस्थापन समितिले जनाएको छ।