ललितपुर। ग्वार्कोमा निर्माणाधीन आकाशे मार्ग (फ्लाइओभर ग्रेट सेपरेटेड इन्टर्सेक्सन) को ठेकेदार कम्पनीबाट हर्जना तिराउनुपर्नेमा उल्टै क्षतिपूर्ति दिन चलखेल भएको छ। सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले जरिवाना तिर्नुपर्नेमा सडक विभागले उल्टै ठेकेदार कम्पनीलाई नै क्षतिपूर्ति दिने देखिएको छ ।
त्यसका लागि ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै सडक विभागमा निवेदन पनि दिइसकेको छ । आरसी, समानान्तर र रेलिग्रे (संयुक्त) निर्माण कम्पनीले सो फ्लाइओभर निर्माणको जिम्मा पाएको हो ।
डिजाइनभन्दा अतिरिक्त काम गर्नुपरेको भन्दै ठेकेदार कम्पनीले सडक विभागसँग थप साढे सात करोड रुपियाँ र छ महिनाको समय मागेको हो । ठेकेदार कम्पनीले फागुन ९ गते क्षतिपूर्ति स्वरूपको रकम र थप समयको दाबीसहित सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा निवेदन दिइसकेको छ ।
सम्झौता अनुसार म्याद सकिएको दिनदेखि नै ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको कुल रकमको ०.०५ प्रतिशतका दरले प्रतिदिन हर्जना तिर्नुपर्ने हुन्छ । फ्लाइओभर निर्माणका लागि कुल १७ करोड ७६ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको छ । व्यवसायीले सोही रकमको ०.०५ प्रतिशतका दरले हर्जना तिर्नुपर्ने हुन्छ । सडक विभागले ठेकेदार कम्पनीलाई मोबिलाइजेसन पेस्कीबापतको डेढ करोड रुपियाँ भुक्तानी गरिसकेको छ । गोरखापत्रबाट