मकवानपुर। सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको हो।
कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ । आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ । त्यसकारण आजदेखि क्लिङ्कर उत्पादन बन्द रहेको बताइएको छ ।
उद्योगमा विगतमा उत्पादन भएको क्लिङ्करको मौज्दात पूर्णरुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगले जनाएको छ। कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो । अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ ।