बनेपा । बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन गर्न काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक पुल निर्माणको कामले गति लिएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत जिल्लामा १७ वटा पुल निर्माणको काम अघि बढेको हो ।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजु श्रेष्ठले चालु आर्थिक वर्षमा कार्यालयले काभ्रेपलाञ्चोकमा १७ वटा र भक्तपुरमा सात वटा गरी २४ वटा सडक पुल निर्माण गर्ने बताए । उनले कुल सडक पुलमध्ये २२ वटा सडक पुल कार्यान्वयनमा गएकोमा एउटाको काम समय अगावै सम्पन्न भइसकेको भन्दै दुई वटा सडक पुलको बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा रहेको बताए। उनले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्ले–बालुवा जोड्ने डाँफे खोला पुल सम्झौताको अन्तिम मितिभन्दा नौ महिनाअघि नै सम्पन्न भएको बताए।
उनले कार्यालयले समयमा नै सडक निर्माणको काम सम्पन्न गर्न तदारुकताका साथ काम अघि बढाएको बताउँदै काम सुरु भएका सडक पुलमध्ये काभ्रेपलाञ्चोकमा काम भइरहेका १७ वटा पुलमध्ये ११ वटा र भक्तपुरमा काम भएकामध्ये चार वटा पुलको काम असार मसान्तभित्र सम्पन्न हुने बताए । उनले निर्माण सुरु गरिएका अधिकांश सडक पुलमा फाउन्डेसन उठाउने काम भइरहेको, हालसम्म तीन वटा पुलको स्ल्याब ढलानको काम सम्पन्न भएको र केही पुलमा स्ल्याब ढलानको तयारीसमेत भइरहेको बताए । सिडिई श्रेष्ठले कार्यालयले सुरु गरेका सडक पुल निर्माण सम्पन्न भएपछि बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने भन्दै यस वर्ष काभ्रेको मण्डनदेउपुर र बेथानचोकमा एक एक वटा झोलुङ्गे पुल निर्माण हुने बताए । गोरखापत्रबाट