काठमाडौं। बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका(१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
यस्तै मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो। सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका बबिददेल नेपाली र चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विकको पनि ज्यान गएको छ।
सातजनाको घटनास्थलमै मृत्यु भएको र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये एक जनाको उपचार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको छ।