काठमाडौं। दोलखा जिल्लाको बिगु गाउँपालिका–१ स्यालुमा दुई वटा खानेपानी योजना निर्माण निर्माण गरिएको छ। ‘कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल’ नामको गैरसरकारी संस्थाको आर्थिक सहयोग र उपभोक्ताको श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको हो।
संस्थाको ७५ लाख आठ हजार २५९ र उपभोक्ता जनश्रमदानबाट छ लाख ५८ हजार गरी कुल ८१ लाख ६६ हजार २५९ रुपियाँ लगानीमा व्यक्तिगत धारा ७८ र ३५३ परिवार लाभान्वित हुने गरी तीन वटा सामुदायिक धारा, मिटरजडित धारा ८१, पाइपलाइनलगायतका संरचना छन् ।
गौरीशङ्कर–८, भुमेथान र हुर्पुङमा ८० लाख रुपैयाँ लगानीमा ६१ वटा खानेपानीका धारा अर्को वर्ष निर्माण हुने संस्थाले जनाएको छ।
बिगु र गौरीशङ्कर गाउँपालिकामा थप दुई वटा झोलुङ्गे पुल र दुई वटा खानेपानी आयोजना निर्माण गर्ने तयारीमा रहेको समेत संस्थाले जनाएको छ। संस्थाले विगत ५५ वर्षअघिदेखि देशका विभिन्न जिल्लामा पुल, खानेपानी, लघुजलविद्युत् आयोजनाका साथै कृषि तथा स्वास्थ्यमा समेत लगानी गर्दै आएको जनाएको छ।