काठमाडौं। कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफाले । होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेका हुन् ।
त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए।
होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए। केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले।
अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे। उनी हुन् कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन् । कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए।
तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्। उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्।