काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका तत्कालिन अध्यक्षसहित ६ जना दोषी ठहर भएका छन्। केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा उनिहरु दोषी ठहर भएका हुन्।
विशेष अदालतले २६ जना आरोपीमध्ये २० जनालाई भने सफाई दिएको छ। टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना गरेको छ।
राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवानाको सजाय सुनाइएको छ। दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामाको हकमा ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ।
यस्तै सामान ल्याउने ठेकेदार कम्पनीका सन्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।