काठमाडौं। पोखरा महानगरपालिकाको भण्डारण कक्ष फुटाएर भवन निर्माण सम्बन्धि कागजपत्र रहेका फाइलहरु चोरी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्। लम्जुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २८ को सुबिर थापा मगर र वर्ष २९ को सरोज थापा मगर महानगरको भण्डारण कक्ष फुटाएर भवन निर्माण सम्बन्धि कागजपत्र रहेका फाइलहरु चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।
उनीहरुले सोमबार दिउसो करीब साढे तीन बजेको समयमा पोखरा ८ नयानबजारस्थित हाल शहरी स्वास्थ्य प्रवर्दन केन्द्र रहेको भवनमा संचालित महानगरपालिकाको भण्डारण कक्षको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप प्रहरीले लगाएको छ।
उनीहरुको साथबाट ३९ थान नक्शाका फाइलहरु पनि बरामद भएको वडा प्रहरी कार्यालय बैदामाले जानकारी दिएको छ।