गोरखा। सहिद लखन गाउँपालिका ३ घोर्लेस्वाँरामा हिजो दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका ४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जीप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो।