हेमजा। १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कुल १ सय ४० स्टल मध्य ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।
स्थानीय पासको लागि रु २५० मा दिउँसोको कार्यक्रम तथा रु ५०० मा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने छ ।