चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ। साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो।
गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो। मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन्। बर्खामा नारायणीमा आउने बाढीले उक्त मस्कट बगाएर लैजाने जोखिम बढी छ।
उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको छ, सो महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ।
मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ। नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो।
एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो। महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ। मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ।