एजेन्सी। फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि आगलागी भएको छ। पेरिसको एरोन्डिसमेन्टमा भएको भवनमा आइतबार राती भएको विस्फोटबाट सातौँ तल्लामा आगलागी भएको हो।
आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ। भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी मेयर लुक लेबोनले बताए ।
यो मामिलाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ । विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।