काठमाण्डौं। एक वर्षको अवधिमा नमोबुद्ध नगरपालिकाका ५०२ योजना सम्पन्न भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा तय गरिएका ५९९ योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० योजना र कार्यक्रम सम्पन्न भएका हुन्।
नगरले वार्षिक समीक्षा गर्दै गत आवमा भएगरेका कामको विवरण सार्वजनिक गरेको हो। गत आवमा ७४ करोड ३१ लाख २८ हजार विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् ६२ करोड ९४ लाख १४ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए। चालुतर्फ ४० करोड ७९ लाख १४ हजार विनियोजन गरिएकोमा ३६ करोड १२ लाख ८३ हजार खर्च भएको उल्लेख गरिएको छ।
यसैगरी पुँजीगततर्फ ३३ करोड ५२ लाख १३ हजार बजेट विनियोजन भएकामा ८० दशमलव ०८ प्रतिशतअर्थात् २६ करोड ८४ लाख ५१ हजार खर्च भएको छ। पौडेलका अनुसार कोभिड–१९ महामारीका कारण सङ्घ तथा प्रदेशबाट प्राप्त योजना अघि बढ्न नसक्नु लगायतका कारण कतिपय योजना सञ्चालनमा समस्या भएको थियो। वडागतरुपमा २७० योजनामध्ये ८२ दशमलव ९६ प्रतिशत अर्थात् २२४ योजना सम्पन्न भएका छन्। नगरका ११ वडामध्ये ४ नम्बरले शतप्रतिशत योजना सम्पन्न गरेको जनाइएको छ।
नगरले ६ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा चार करोड १४ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ। कोभिड–१९ का कारण कतिपय क्षेत्रमा राजस्व छुट दिएको लगायतका कारण अनुमानभन्दा कम राजस्व सङ्कलन भएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए।