काठमाडौं। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ ।
ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर करिब चार करोड रुपैयाँ आएको देखिन्छ ।
जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ ।
सुप्रिम सहकारीबाट रवि लामिछानेका नाममा आएको थियो एक करोड ८० लाख ।
गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो । उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ ।