खोटाङ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने संरचना निर्माण गर्न माग गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दू धर्मलाई मात्र लक्षित गरेर मन्दिर निर्माण गर्न लागिएको भन्दै जनजाति महासंघले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माण गर्न माग गरेको हो।
त्यस्तै जनजाति महासंघले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै सबै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ। सो परिषद्का जिल्ला अध्यक्षले बुझाएको ज्ञापनपत्रमा एकल हिन्दू धर्ममा आधारित सोच बनाएर मन्दिर निर्माण सुरु गरिएकाप्रति दुःख व्यक्त गरेका छन्।
यसैगरी आफ्नो मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरूपमा संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ। यो भन्दा अगाडी पनि तत्कालीन जिल्ला विकास समितिको कार्यालय हालको जिल्ला समन्वय समितिको कार्यालय परिसरमा निर्माण सुरु गरिएको गणेश मन्दिर चौतर्फी विरोधका कारण रोकिएको थियो।
यसैबीच आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले आदिवासी जनजाति प्रमाणीकरणको अधिकार आफूले पाउनुपर्ने माग गरेको छ। प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासंघले नेपाल सरकारको २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेख भएबमोजिम आदिवासी जनजातिका लागि सिफारिस दिने वा प्रमाणित गर्ने अधिकार आफूले पाउनुपर्ने दाबी गरेको हो।