काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना भएकाे छ। धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खसेर दुर्घटना भएकाे हाे।
दुर्घटनामा १९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्।