काठमाडौं। नुवाकोटका विभिन्न व्यापारीक समुहको संयुक्त लगानीमा आलु र मकैका परिकार उत्पादन गर्ने जालपा भैरवी फुड इन्डस्ट्रिज उद्योग खुल्ने भएको छ। कृषिलाई बढावा दिने उधेश्यले सो उद्योग खोल्न लागिएको हो। विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आईरहेका चार जना ठुला व्यापारीहरुको समुहले आलु र मकै सम्बन्धी विभिन्न परिकार उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याउन लागेका हुन्।
उद्योग स्थापनाका लागि विदुर नगरपालिका वडा नम्बर ५ बुनेबेंशीमा करिब १८ करोड लगानीमा भौतिक पुर्वाधार निर्माण भइसकेको सो कम्पनीका एक सञ्चालकले जानकारी दिएका छन्। यसैगरी हाल प्याकेजिङ, लेबलिङ र उपकरणहरुको जडान प्रक्रियामा रहेको छ। स्वदेशमा नै उत्पादन हुने आलुको उपयोग गरी आलु जन्य विभिन्न परिकारहरुको आयात विस्थापित गर्ने उदेश्यका साथ उद्योगले नयाँ बर्षदेखि उत्पादन सुरु गर्ने उनले जनाएका छन्।
कृषिमा आश्रित रहेका स्वदेशी किसानहरुलाई आलु खेतीमा प्रोत्साहन गर्न साथै उत्पादनपछिको खरिदका लागि ग्यारेन्टी समेत गर्ने गरी आलु खेती विस्तार गर्नको लागि कार्यविधि बनाउन थालिएको जनाइएको छ। उक्त व्यापारीक समूहका चारै जना व्यापारी नुवाकोट चेम्बर अफ कमर्शमा आबद्ध रहेका छन्। हाल अत्याधुनिक प्रविधिद्वारा स्वास्थ्यबर्द्धक खाद्य सामग्री उत्पादन गर्न लागिएको उनिहरुले जानकारी दिएका छन्।
सो उद्योग निर्माण पश्चात नुवाकोट, रसुवा, धादिङको साथै टिस्टुङ, पालुङ, मुढे लगायत नेपालमै उत्पादन भएको आलुबाट परिकारहरु बनाईने योजना रहेको छ। आलबाट बनेका परिकारहरु, आलु चिप्स, आलु क्रयाकर, आलु कुर्मुरे र चिजबलका परिकारहरु उद्योगबाट नै उत्पादन तथा बिक्री गरिने भएको छ। यसैगरी उद्योगले आलुको परिकार उत्पादन गर्न थालेको केहि समयपछिबाट दालमोठ पनि उत्पादन गर्ने गरी योजना अघि बढाएको छ। यसले गर्दा कृषि क्षेत्रको विकासमा टेवा पुग्ने देखिएको छ। स्वदेशमा नै उद्योग स्थापना गरी उत्पादित बस्तुहरुको सहि सदुपयोग गर्ने हो भने विदेशी आयातलाई कम गर्न सकिने अपेक्षा राखिएको छ।