एजेन्सी। केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्याएको छ। केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।
आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए। राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए ।
सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मंगलबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् ।
मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ ।