लमजुङ। मर्स्याङ्दी गाउँपालिका ६, डहरे क्षेत्रमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ ।
बैतडी जिल्ला नल्लादेही गाउँपालिका ६ घर भएका ३८ वर्षीय रामबहादुर बोहरा काम गर्न जाने क्रममा माथिबाट अचानक खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार सुरुङको आउटलेट नजिकैबाट खसेको ढुंगा लागेर आइतबार बिहान ९ बजेर १० मिनेटतिर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मध्याह्न सवा १२ बजेतिर डाक्टरहरुले बोहरालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।