काठमाडौं। पोखरा उपत्यकामा खानेपानीको अभाव भएको छ। पोखराको मुख्य खानेपानी आयोजना स्तरोन्नति जारी रहँदा लामो खडेरी लागेपछि खानेपानी अभाव भएको हो।
नेपाल खानेपानी संस्थान पोखरा शाखाले सात करोड लिटर माग भए पनि पोखरा महानगरमा दैनिक चार करोड ७० लाख लिटरमात्र पानी वितरण गरिरहेको छ ।
संस्थानका पोखरा शाखा र विन्ध्यवासिनीमा रहेको इकाइ कार्यालयमा दिनमै पाँच सयभन्दा बढी उपभोक्ता खानेपानी माग गर्दै आउन थालेका छन्।संस्थान पोखरा शाखाले लम्बिएको खडेरी र खानेपानी योजनाको काम जारी रहेकाले पानीको अभाव भएको जानकारी दिएको छ।
कालीमुडा, भोटीखोला, बालधारा तथा बोरिङबाट वितरण गर्ने पानी समेत कम हुँदा वितरणमा समस्या भएको शाखाले जनाएको छ। धेरैजसो खानेपानीका मूलमा नै पानी कम हुनु पनि यस समस्याको कारण हो।