काठमाडौं। कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस त्रिवि परिसमै दुर्घटना भएको हो ।
त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक भवन अगाडी भएको दुर्घटनामा परी प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। प्रा.डा.रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन्।
दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।