म्याग्दी। जिल्लाको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले हाई अल्टीच्युड खेलमैदान निर्माण गरिने भएको छ। जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टीच्युड खेलमैदान निर्माण गरिने भएको हो।
उक्त खेलमैदानको मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। यहाँ बाट विभिन्न हिमाल हेर्न सकिने भएकाले हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित खेल मैदान निर्माणको कार्य शुरू भएको हो।
पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।
खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कूल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने बताइएको छ।
नेपालमा हाइ अल्टीच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भित्राउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताए।