मकवानपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताएका छन्। उनले तीनखम्बे अर्थनीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आर्थिक विकासको बलियो खम्बाका रूपमा सहकारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफू निर्वाचित भएको क्षेत्रअन्तर्गत उत्तरी मकवानपुरको पालुङस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ साधारणसभाको उद्धघाटन गर्दै सहकारी क्षेत्रलाई अवमूल्यन गर्न नहुने जानकारी दिएका छन्।
कतिपय सहकारीहरू ठगी आरोपमा परिरहेको अवस्थामा राम्रा काम गर्ने सहकारी ओझेलमा परेको बताउँदै उनले सचेत पूर्वक सहकारीले आफ्ना सदस्यको हितमा काम गर्नुपर्ने बताएका छन्। आफूले पाएको स्वास्थ्यमन्त्रीको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाउँदै उनले कोभिड–१९ महामारीको डटेर सामना गर्न सक्ने रणनीति अबलम्बन गरिएको जनाएका छन्।
अब १६ हजार स्थानबाट खोप कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले पहिलो र दोस्रो खोप पूरा गरिसकेकाका निम्ति बुस्टर डोज नेपाल सरकारले निःशुल्क लगाइदिने जानकारी दिएका छन्। यसैगरी उनले थाहानगरमा बन्दै गरेको १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि त्यसका लागि आवश्यक आइसीयूलगायत उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।